काठमाडौं– सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले प्रवेशद्वार तथा सूचनाकेन्द्र निर्माण गरेको छ। वडाध्यक्षसहितका जनप्रतिनिधिले आफूले पाउने सेवासुविधाबाट गाउँपालिकाको सीमाक्षेत्रमा आकर्षक प्रवेशद्वार बनाउन सहयोग छन्। गाउँपालिकाको पर्यटन प्रवद्र्धनका निम्ति पालिकाभित्र रहेको विभिन्न कला, संस्कृति र मौलिकतालाई झल्काउने गरी प्रवेशद्वार निर्माण गरिएको हो।
गाउँपालिकाको आठ वडाका वडाध्यक्षलाई छुट्याइएको सवारीसाधन खरिद तथा अन्य सुविधावापतको रु ४० लाख र पालिकाको थप रु १० लाख गरी रु ५० लाख लागतमा उक्त प्रवेशद्धार निर्माण भएको हो। सिन्धुपाल्चोकको पर्यटकको आर्कषण केन्द्रका रूपमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाले प्रवेशद्वारसँगै पुस्तकालयसहितको सूचना केन्द्र र प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीको झल्को दिने गरी पाँच पोखरीसहितको महादेवको मूर्ति पनि स्थापना गरेको छ।
पूर्वमन्त्री शेरबहादुर तामाङले नवनिर्मित पालिका प्रवेशद्वार, सूचना केन्द्रको शनिबार उद्घाटन गरेका हुन्। पालिकाको प्रवेशद्वारसँगै सूचना केन्द्रको स्थापनाले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै प्रचारप्रसारमा सहज हुने विश्वास तामाङले व्यक्त गरे।
गाउँपालिका अध्यक्ष टासी लामाले विश्वको नवौँ अग्लो स्थानमा रहेको ताल पाँचपोखरीलगायत गाउँपालिकाभित्रका विभिन्न पर्यटकीयस्थलको प्रचारप्रसार तथा जानकारीसहितको सूचना केन्द्र स्थापनासँगै गाउँपालिकालाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यअनुरुप योजनाबद्ध ढङ्गले काम गरिरहेको जानकारी दिए। स्थानीयवासीको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन नै प्रमुख भएको जनाउँदै उनँले उत्पादनमूलक आयआर्जनका क्षेत्रमा जोडिन पाँचपोखरीवासीलाई आग्रह गरे।
सोही अवसरमा गाउँपालिकाले तयार पारेको चारवर्षे प्रगति प्रतिवेदन पुस्तक विमोचन तथा पालिकाको सम्पूर्ण स्थानको सूचनासहितको नक्शासमेत सार्वजनिक गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।