काठमाडौं– स्थानीय निर्वाचन विकास निर्माणका लागि महत्त्वपूर्ण अवसर भएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्। शनिबार पाल्पाको रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्व र विकास निर्माणको लागि स्थानीय तहको निर्वाचन महत्त्वपूर्ण अवसर भएकोमा जोड दिए।
सो अवसरमा उनले रामपुरको खानेपानी समस्या समाधान, पर्यटन विकासलगायतका क्षेत्रमा सङ्घीय सरकारले आवश्यक बजेट उपलब्ध गराउने बताएका थिए।
मुस्कानसहितको प्रहरी, सम्मानसहितको प्रहरी सरकारको अभियान रहेको बताउँदै मन्त्री खाणले राष्ट्रसेवक सबै कर्मचारीले बफादार भएर आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिए। इलाका प्रहरी कार्यालयको स्तरवृद्धि गरी क्षमता पनि विस्तार गरिने सो अवसरमा मन्त्री खाणले बताए।
सो अवसरमा नगरप्रमुख रमणबहादुर थापाले रामपुर नगरपालिकासहित कालीगण्डकी बेँसीका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक, धार्मिक तथा पर्यटन क्षेत्रका विषयमा समेटिएको मागपत्र गृहमन्त्री खाणलाई हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।