काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेन-रुसबीचको शान्ति वार्तामा अमेरिका बाधक रहेको बताएका छन्। लाभ्रोभले युक्रेनलाई अगाडि बढ्नबाट अमेरिकाले रोकेको आरोप लगाएका हुन्।
रुसको इन्टरफ्याक्स न्यूज एजेन्सीका अनुसार उनले अमेरिकाले युक्रेनलाई रुसको माग स्वीकार गर्न दबाब दिरहेको पनि बताएका छन्।
लाभ्रोभले भने, ‘हामीलाई युक्रेनी प्रतिनिधिमण्डलको हात समातिएको महसुस भइरहेको छ। अमेरिकाले यस्तो गरिरहेको हुनसक्छ, उनीहरूले युक्रेनको ती माग पनि स्वीकार गर्दैनन्।’
लाभ्रोभले बिहीबार मात्रै युक्रेनसँग शान्तिवार्ता सहज नभए पनि आफूलाई सम्झौताको आशा भएको बताएका थिए।
‘हाम्रा वार्ताकारहरूले दिएको मूल्याङ्कनका आधारमा मैले धारणा बनाइरहेको छु,’ उनले भनेका थिए,‘उनीहरूका अनुसार केही स्वाभाविक कारणले गर्दा सहमति सहज छैन। यद्यपि, सम्झौताको आशा बाँकी नै छ।’
युक्रेनको तटस्थता र असैनिकीकरणका साथै पूर्वी युक्रेनका मानिसहरूको सुरक्षाबारे आफूहरूको चासो रहेको उनको भनाइ छ।
यता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो पछिल्लो भिडियो वक्तव्यमा रुसले युक्रेनसँग फलदायी शान्ति वार्ता गर्नुपर्ने बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताको माग गर्दै जेलेन्स्कीले भने, ‘भेट गर्ने समय आएको छ, वार्ता गर्ने समय आएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।