फाइल तस्बिर
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन्। सबै पूरा गर्न नसके पनि धेरै काम आफूले गरेको शाक्यको भनाइ छ।
शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै शाक्यले भने, ‘सबै पूरा गर्न नसकेपनि धेरै जिम्मेवारी पूरा गरेको छु। मैले टिमलाई व्यवस्थित ढंगले परिचालित गरेको छु।'
मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको पनि दाबी गरे। सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको शाक्यको जिकिर छ।
'सबैलाई उचित जिम्मेवारी दिएर काम गर्ने वातावरण बनाइ दिएका छौं। सबै वडा कार्यालयहरुलाई प्रशस्त बजेट पनि दिने, जिम्मेवारी पनि दिएर काम गराएका छौं। र, अभिभावकीय भूमिका खेल्नुपर्छ भनेर सोही अनुसार काम गरिरहेका छौं,' शाक्यले भने।
विकास निर्माणको काम निरन्तरको काम भएकाले त्यसमा आफूले सकेको योगदान दिएको शाक्यको भनाइ छ। केही मुद्दा मामिलाका कारण पनि महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालय बनाउन नसकिएको शाक्यले बताए।
कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गीले सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरुको कामलाई अघि बढाइएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।