काठमाडौं– युरेनियम कारोबारको आरोपमा आरोप पक्राउ परेका ललितपुरका कांग्रेस नेता नवराज महत रिहा भएका छन्।
काठमाडौं प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएकोमा सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भन्दै फाइल फिर्ता पठाएपछि प्रहरीले उनलाई छोडेको हो।
सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु (युरेनियम) कारोबारको आशंकामा प्रहरीले महतलाई पक्राउ गरेको थियो। महतबाट बरामद भएको पदार्थको परीक्षण गर्न दुई ठाउँमा पठाउँदा पनि युरेनियम प्रमाणित नभएपछि के अभियोगमा मुद्दा चलाउने अन्योल भएपछि सरकारी वकिलले थप अनुसन्धान गर्न भन्दै फाइल फिर्ता पठाएको हो।
'प्रहरीले युरेनियम भनेर बरामद गरेको पदार्थ दुई ठाउँमा परीक्षण गर्न पठाउँदा पनि युरेनियम भएको प्रमाणित हुन सकेन। बरामद वस्तु युरेनियम भएको प्रमाणित नभएपछि के अभियोगमा मुद्दा चलाउने भनेर अन्योल भएपछि फाइल फिर्ता पठाइएको हो,' जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगाप्रसाद पौडेलले भने।
मुद्दामा अनुसन्धान गर्ने अवस्था नभएपछि अदालतमा म्याद थप पनि नहुने भएकाले थुनामा रहेका व्यक्तिलाई प्रहरीले रिहा गरेको उनले बताए।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले फागुन २ गते साँझ महतसहित अन्य केहीलाई हायात होटलको पार्किङबाट पक्राउ गरेको थियो। महत २०७४ को प्रदेश निर्वाचनमा माओवादी नेता राजकाजी महर्जनसँग पराजित भएका थिए।
आणविक ऊर्जा तथा हतियार बनाउन प्रयोग हुने ‘युरेनियम’ बिक्री–वितरणमा उनीहरू संलग्न रहेको प्रहरीको दाबी थियो। प्रहरीले नै ग्राहक भएर उनीहरूसँग खरिदको डिल गरेको थियो। प्रतिकेजी ३५ करोडमा बिक्री गर्ने सहमतिपछि उनीहरू हायात पुगेको प्रहरीले बताएको थियो। प्रहरीले उनीहरुबाट बरामद झोला नखोली युरेनियम भनिएको पदार्थ परीक्षणका लागि पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।