काठमाडौं– महानगरीय प्रहरी वृत्त बौद्धले प्रतिबन्धित पदार्थ युरेनियम कारोबार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सिरहा लक्ष्मिपुर पतरी गाउँपालिकाका गोपिलाल दास, सिरहाकै बरियापट्टीका जिवछनारायण यादव, महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी, सिन्धुपाल्चोक हेलम्बुका रामकृष्ण लामिछाने, काठमाडौंका भुपेन्द्र खडका र ललितपुरका नवराज महत छन्।
उनीहरुलाई हायत रेजेन्सी होटलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। ३ किलो युरेनियम जस्तो पदार्थ कारोबार गरेको आशंका उनीहरुलाई पक्राउ गरिएको हो। यद्यपि, बरामद पदार्थ युरेनियम भए/नभएको पुष्टि भइसकेको छैन। बरामद पदार्थ जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी कार्यालय (मेट्रो) ले पनि यसअघि युरेनियमसहित बौद्धबाटै चार जनालाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।