७ मार्च बिहान १० बजेतिर नेपालमा आमासँग कुरा गर्दै थिएँ। कुरैकुरामा पिताजीले मामा बित्नुभएको सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘मामा बित्नुभयो रे! फेसबुकमा आइसक्यो रे त!’
मैले फेसबुक चलाउन जाँगर नगरेको २०–२२ महिना भैसकेको थियो। मृत्युका दुःखद खबरहरू जथाभावी पोस्ट हुन थालेपछि फेसबुकलाई बेवास्ता गर्न थालेको हुँ। त्यतिखेर मेरी घरकी हजुरआमा बितेको खबर फेसबुकले ‘ब्रेक’ गरेको थियो। म कुनै साथीको घरमा शुभकार्यमा थिएँ। तर, कोही नातेदारले औपचारिक सन्देश दिनुअघि नै फेसबुकको भित्तो नातिलाई हजुरआमा बितेको खवर दिँदै थियो। त्यो खबर गाउँको एक जना जुठो नलाग्ने भाइले पोस्ट गरेका थिए।
आज फेरि अर्को दुःखद खबर फेसबुकमै पोस्ट भएछ। एकछिन स्तब्ध हुँदै सम्झिएँ विगतलाई। दशैँमा म नेपाल जाँदा पिताजीसँगै गएको थिएँ बुढोमावली। हजुरबा बाहिर खाटमा सुताइनुभएको रहेछ। हजुरआमा साथमा तातो पानी, फलफूलको रस बेलाबेला मुखमा हाल्दिँदै निन्यारो चेहरामा हजुरबाका बिस्म्रित मुहार हेर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘बाबु! यो जिन्दगी के नै रहेछ र! छोरा–नाति जति पनि छन्, सबै हातखुट्टा लागेपछि कहाँ हो कहाँ पुग्ने रहेछन्। अन्तिममा जति चल्न नसके पनि बुडोलाई बुडी र बुडिलाई बुडो नै रहेछ नि साथी त!’
त्यति बेला मदनकृष्ण श्रेष्ठको ‘अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे’ भन्ने गीत मेरो कानको इयरबडमा बिस्तारै गुन्जिरहेको थियो।
केही बेर रनभुल्ल परेपछि ‘जेसुकै होस् फेसबुक हेर्ने साहस झिक्छु आज’ भन्ने लाग्यो र 'लग इन्' भएँ। जति ‘स्क्रोल डाउन’ गर्यो उति श्रद्धान्जलीका पोस्टहरू देख्दै गएँ। कसैले हजुरबालाई, कसैले गुरुका गुरुलाई, कसैले आफ्नै गुरुलाई, कसैले अभिभावकलाई, कसैले कांग्रेसका नेतालाई, कसैले स्थानीय समाजसेवी, कसैले गुरुपुरोहित, कसैले हेड्सरका बा, कसैले पूर्ववडाध्यक्षलाई दिएका श्रद्धान्जली र समवेदनाले फेसबुकको भित्तो भरिएको थियो। मैले चिनेकाहरूले पनि समवेदना सन्देश दिएर आफ्नो कर्तव्य पूरा गरिसकेका थिए भने नचिनेकाहरूले पनि।
तर, त्यो भित्तोमा हजुरआमाको न फेसबुक थियो, न त कुनै समवेदना नै। मनमनै लाग्यो, हजुरआमाको तर्फबाट फेसबुकमा समवेदना सन्देश नआए पनि हजुरबालाई स्वर्गको बाटो लाने बेला यति धेरै मान्छेले समवेदना दिएको त त्यो यमदूतले पनि पक्कै देख्ला नि त!
मैले अन्तिम पटक भेट्दा हजुरबाले इशारामा भन्नुहुन्थ्यो, ‘अब जीवनदेखी अघाइयो बाबु। यो समय मेरो लागि जसले जति गर्छ त्यो मात्रै हो मैले पाउने। यसपछिको कुनै पनि औपचारिक वा अनौपचारिक सम्बोधन न मैले अनुभूत गर्नेछु, न त मेरो त्यसमा कुनै हक रहनेछ।’ अफसोच! म हजुरबाको त्यो इशारा पनि नबुझेझैँ गरी फेरि क्यानडा फर्किएको थिएँ।
खैर, फेसबुकका भित्ताहरूमा समवेदनाका शब्दहरू पढ्दैगर्दा धेरैखाले अनुहारहरू त्यसमा प्रतिबिम्बित हुन्छन्। कोही त साच्चै शिक्षित लाग्ने पनि छन्। यति धेरै मान्छेहरूले फेसबुकमा समवेदना दिनु वा नदिनुसँग कहिले त मैले भेटेर एकपटक ‘हजुरबा! अन्तिम बिदा’ भन्न नसक्नुको कुनै अर्थ पो छ कि भनेझैँ लाग्छ। कतै फेसबुकको समवेदनामार्फत तिनले मलाई नै जिस्काउदै छैनन् भन्ने पनि लाग्छ। तर पनि माफ गरिदिनुस् हजुरबा! अन्तिम समय तपाईंसँग हुन त सकिनँ, सकिनँ, तपाईंको मृत्युको खबर पनि फेसबुकमा प्रचार गर्न कसैगरी सक्दिनँ।
घटनाहरू अनेकौं हुन्छन्। अब त यस्तो लाग्दैछ, फेसबुकमा पोस्ट नभएसम्म कुनै पनि धार्मिक–सांस्कृतिक काम सम्पन्न भएको मानिन्न। एकजना कानुनकै अभ्यास गर्ने भाइले समेत हजुरबा बित्नुभयो भनी फेसबुकबाट श्रद्धान्जली दिएको देखें। मैले आफैँले आफैँलाई प्रश्न गरें– यदि त्यसो नगरेको भए हजुरबाप्रतिको उसको स्नेह सायद् कम भएको बुझिन्छ भन्ने पनि होला। या बुझी–नबुझी गरिएका रीतहरू गर्दै जानुपर्छ भन्ने उसलाई पनि लागेको छ। मृत्युको विज्ञापनबाट मानसिक चोट पुगेका ग्राहकहरू न्यायको फिराद गर्दै आफ्ना च्याम्बरमा नआएसम्म विद्वान वकिलहरूलाई पनि फेसबुकमा यसरी मृत्यु ओछ्याउन हुन्न भन्ने हेक्का होलाजस्तो छैन।
धेरै राजनीतिक व्यक्तिहरूले आफू सहभागी कार्यक्रमहरूबारे दिएको जानकारीलाई प्रचारको भोकको रुपमा स्वीकार्न सकिएला, तर तिनले आफन्त भेटेका, न्वारन पास्नी गरेका, माइत वा मावल गएका, ‘बर्थ डे’मा सहभागी भएकादेखि मृत्युका समेत अनवरत ‘विज्ञापन’ फेसबुकबाट उत्तिकै बिस्कुन लगाउन नछोड्नु चेतनाको मात्रै कमी हो कि! कतै मानसिक रोग त हैन?
एक जना राष्ट्रियस्तरका नेता श्रीमतीको जन्मदिन मनाएको र घरमा पूजा लगाएको फोटोहरू फेसबुकमा हाल्छन्। तर, तिनलाई लाइक कमेन्ट गर्नेहरू धेरै कमले मात्र सम्झिएका होलान्, निजी मामलालाई सार्वजानिक खपत गराउने ती नेताको पारिवारिक जीवन सोचेजस्तो सुन्दर हुँदो हो भने त्यसरी विज्ञापन गर्नै पर्दैन। ठूलाले जे गरे पनि स्वीकार्य हुने नेपाली समाजमा नेताहरूलाई ठूला मानिन्छ, र त समाजमा जताततै सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक र आर्थिक विचलन देखिन्छ।
कतिपय प्रविधि सौखिन मान्छेमा त यस्तो धारणा बन्न थालिसक्यो कि– फेसबुकबाटै अब अदालतले म्याद तामेल, समाह्वानको सूचना दिए हुन्छ। डाक्टरले बिरामीको रिपोर्ट हाल्दिए पनि हुन्छ।
त्यसो त, नेपाली समाज र हिन्दू विधिशास्त्रमा जुठो सुनाउने एउटा छुट्टै प्रचलन पनि छ। विधिशास्त्रीय मान्यता स्थापित भएका कतिपय व्यवस्थाहरूलाई आधुनिकता वा सूचनाप्रविधिको नाममा जथाभावी प्रसारण गरेर सूचित भएको कल्पना गर्न सकिन्छ? प्रविधिको विकास भयो भन्दैमा त्यसको जथाभावी प्रयोगले सकारात्मकभन्दा नकारात्मक असर बढी हुने भएर नै प्रविधि भित्रिनेबित्तिकै त्यसका चुनौतीहरूको समीक्षा गरेर सुदूर भविश्यमा समेत सदुपयोग हुने कानुन बनाउनुपर्छ। सामाजिक सन्जाल नियमनको लागि विधायिकीले छिट्टै ध्यान दिनुपर्ने आवश्यकता छ। पूर्ववर्ती सरकारका सूचनामन्त्री गोकुल बास्कोटाले यो विषय नियमन गर्न चालेको कदम सह्रानीय थियो, तर कुरा बंग्याउन जान्ने समाजमा त्यसलाई वाक स्वतन्त्रासँग जोडेर विकराल बनाइयो। सामाजिक सन्जाल नियमनको लागि छिट्टै कानून नबनाउने हो भने यसले जानी–नजानी मानसिक आतंक फैलाइरहन्छ।
सामाजिक सन्जालको व्यापकताले कतिपयलाई सूचनाप्रविधिमा सबैभन्दा ठूलो प्रगति भएको भन्ने पनि लागेको होला। न कुनै नियम, न त कुनै कानुनको दायरा, निर्बाध र निर्बन्ध भावना सम्प्रेषणले स्वतन्त्रता भन्दा पनि मान्छेहरूको उन्माद बढाएको छ। फेसबुकले प्रयोगकर्ता र फेसबुकबीचको करारमा नै ‘प्रयोगकर्ता जवाफदेही हुनुपर्ने’ अनुबन्ध राखेरै आफू देवानी दायित्वबाट उम्किने प्रयास गरेको छ।
यद्यपि, युरोप र अमेरिकामा फेसबुक, ट्विटरलगायतका सन्जालले व्यक्तिगत गोपनियताको उल्लंघन, मानहानी, अभिघात, गालीबेइज्जती, सूचनाको दुरुपयोग, अपमान, दुस्क्रितिलगायतका देवानी प्रकृतिका आर्थिक मुद्दाहरूमा करोडौं रकम तिर्दै आएको छ। तर, जहाँ व्यक्तिका गोपनियताका हकसँगै राज्यले सामाजिक सन्जाललाई नियमन गर्ने कानुन बनाउन सकेको छैन, ती देशहरूमा यस्ता सन्जालले थुप्रै भ्रामक, आततायी, निर्लज्ज सूचना मात्र हैन, मृत्युका खवरहरू तस्बिरसहित कसैको अनुमतीबेगर जथाभावी छरेर बाँच्नेका मनमा अनगिन्ती चोट लगाएका घटना प्रसश्त छन्। पढेलेखेका भनिनेहरूबाटै निरन्तर यसरी मृतकको परिवारको अनुमती बेगर मृत्युका खबर पोस्टिएको देख्दा लाग्छ, शिक्षाले मात्र चेतनाको स्तर उकासिने हो भने यस्ता खबर र तस्बिरहरू उछिनपाछिन गर्दै पोस्ट गर्ने होडबाजी पक्कै हुने थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।