काठमाडौं– शुक्रबार साँझ सार्वजनिक भएको गायक प्रकाश सपुतको गीत ‘पिर’ अहिले ‘हट केक’ बनेको छ। कलाकारिता क्षेत्रदेखि सर्वसाधारण सबैले उनको गीतमाथि आफ्नो टिप्पणी प्रस्तुत गरिरहेका छन्। यसबीच मंगलबार कलाकार दिपकराज गिरीले पनि उनको गीतमाथि आफ्नो टिप्पणी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूलाई गीत असाध्यै मन परेको बताएका छन्।
‘पिर गीत असाध्यै राम्रो,’ उनले लेखेका छन्, ‘मलाई पनि छोयो, धेरैलाई छोएको हुनुपर्छ।’ गिरीले उक्त गीत सार्वजनिक भएसँगै कुनै एउटा पार्टीलाई गाली गरेको देख्दा अन्य पार्टीमा मानिसको हरिविजोक भए/नभएको भन्दै प्रश्न गरेका छन्। उनले देशमा कुन दलका मान्छेले आफ्नो पार्टीमा मान्छेको हरिविजोक अवस्था छ भनेर ठोकुवा गर्न सक्छ भन्ने प्रश्न अघि सारेका छन्।
‘केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखे,’ उनले लेखेका छन्, ‘कुनचाहिँ पार्टीमा केही मानिसको रजाइँ र केही मानिसको हरिविजोक छैन? कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ?’
गिरीले आफ्नो टिप्पणी दिँदै गीत बन्द गर्न दबाब दिनुचाहिँ गलत भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।