काठमाडौं– नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्नेगरि नेपाल पे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको छ।
उक्त नेपाल पे क्यूआरको औपचारिक थालनीको घोषणा आज एनसीएचएलले केही बैंक, वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा हिमालयन बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक राणा, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, एनआईसी एशिया बैंकका चिफ स्ट्रेटजी अफिसर विशाल सिग्देल, कामना सेवा विकास बैंकका प्रमुख बिजनेस अधिकृत घनश्याम ढुङ्गेल, समृद्धि फाइनान्स कम्पनीका चिफ मेनेजर बिनोद राज पौडेल, फोकसवान सोलुसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानको उपस्थिति रहेको थियो। कार्यक्रममा अन्य पदाधिकारी एवम् मिडिया तथा सञ्चार कर्मीहरुको पनि उपस्थिति रहेको थियो।
नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्नेगरि नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो। क्यूआर स्किमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआर मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।
यसरी अन्तरआबद्धता कायम गर्न सकिने हुँदा उक्त नेपाल पे क्यूआरले नेपालमा क्यूआरबाट हुने भुक्तानीलाई थप प्रवर्द्धन गर्न सहज गर्ने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा उपस्थित रहेका बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका प्रतिनिधिहरुले नेपाल पे क्यूआरको प्रवर्द्धन तथा स्वीकार्यता बढाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।