काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले ११ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । यस अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतली सडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले ११ वर्ष अघि सरल बैंकिङ सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक अहिले पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जनालगायत सबै हिसावमा ठूलो बैंक बनेकोे बताए।
 हाल बैंकले ९२ अर्ब ५७ करोड निक्षेप संकलन गरी ८८ अर्ब ५९ करोडभन्दा बढी ऋण लगानी गरेको बताए।वार्षिकोत्सवकै अवसरमा बैंकका ४८ जना कर्मचारीलाई कदर पत्रसहित सम्मानसमेत गरिएको थियो। यसैगरी वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले लुम्बिनी आइज इन्सिटिच्युटलाई एन्टेरियर भिट्रेक्टोमी मेसिन खरिदका लागि चार लाख दुई हजार २८० रुपैयाँ र गोविन्द मेमोेरियल एकाडेमी दिङ्ला भोजपुरमा विद्यार्थीहरुका लागि खानेपानी पाइप खरिदका निम्ति एक लाख रुपैयाँ सहयोग रकम हस्तान्तर गरेको छ। 
यसैगरी बैंकले भोजपुर नगरपालिकामा आयोजित स्वास्थ्य शिविर कार्यक्रमलाई ५० हजार रुपैयाँ, नेपाल रेडक्रस सोसाइटी कमलामाई सिन्धुलीलाई गरिव तथा विपन्न वर्गलाई स्वास्थ्य सेवामा सहयोग गर्न स्वास्थ्य सेवा कोष स्थापनाका लागि एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। 
वार्षिकोत्सवका अवसरमा बैंकले देशभरका विभिन्न शाखामार्फत वित्तीय साक्षरता, शिक्षा क्षेत्रमा सहयोग, सचेतना अभिवृद्धि, स्वास्थ्य, रक्तदान, परोपकार, वातावरण संरक्षण, सरसफाइलगायत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ। 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।