काठमाडौं– आजु एग्रो प्रडक्ट्स एण्ड सप्लायर्सले नेपालको विभिन्न स्थानका ग्रामीण क्षेत्रमा उत्पादित रैथाने खाद्यान्न विक्री सुरु गरेको छ ।
बिशेषगरी कर्णालीमा उत्पादित रैथाने खाद्यान्न काठमाडौंका उपभोक्तासम्म पुर्याउने उद्देश्यले आजु एग्रो प्रडक्ट्सले बालाजु चोक र स्वयम्भूमा आउटलेट सञ्चालन गरी आजु फूड्स ब्राण्डमा खाद्य सामग्री बेच्न थालेको छ।
एक महिनाभित्रै ललितपुरको भनिमण्डलमा समेत आउटलेट सञ्चालनमा आउने आजु फूड्सका संचालक यादव देवकोटाले जानकारी दिए। साथै, कमलादीमा रहेको ब्लूबर्ड डिपार्टमेन्टल स्टोरबाट पनि आजु फूड्स ब्राण्डका सामग्री खरिद गर्ने व्यवस्था मिलाउन लागिएको उनले बताए।
हाल कम्पनीले जुम्लाबाट ल्याइएको सिमीको दाल, मार्सी चामल, बोडी, कागुनो, चिनो, फापर, जौ कालिकोटको सेतो मकै, जाजरकोटको भटमास, मस्याङ, गहत, सल्यानको मासको दाल, पाँचमुखे घ्यू पिँडालु, अदुवा, दैलेखको अप्रशोधित मह विक्री गरिरहेको छ।
त्यसैगरी आजुले रोल्पाको भाङ, म्याग्दीको सिलाम, सिस्नोको धुलो, मुस्ताङको जिम्बु, पोखरेली जेठो बूढो चामल, कपिलवस्तुको कालानमक चामल, गोरखाको इन्द्रबेली धानको चामल, भैंसीको घ्यू, बेसार, सातु, रामेछापको भटमास, सर्लाहीको बेसार, रहरको दाल, रुपन्देहीको आलस, खोकनाको कोलमा पेलेको तोरीको तेल, इलामको गाईको घ्यू, सोलुको सेतो सिमीलगायतका खाद्यान्न बिक्री गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।