काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सीएसआरअन्तर्गत काठमाडौंको लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ। विभिन्न सुविधासहित पुनर्निर्माण तथा स्तरोन्नतिपछि काठमाडौं महानगर–२६ लाई उक्त मैदान हस्तान्तरणसँगै सर्वसाधारणका लागि लागि खुला गरिएको छ।
यो परियोजना महानगरको वडा नम्बर २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नति गरिएको हो । नवनिर्मित बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो। ५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिका खेल्ने क्षेत्र, ५० रुख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन्।
स्थानीय समुदाय र वडा–२६ को आग्रहअनुसार एनसेलले मैदानको आगामी २ वर्षसम्म मर्मतसम्भार गर्नेछ। मैदानमा अन्तरराष्ट्रिय स्तरको एस्ट्रोटर्फ बिच्छ्याइ मिनी फुटबल मैदान बनाइएको छ। वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको एनसेलले बताएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन्।
वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानी मात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ।
मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीको छ । मैदानको स्तरोन्नति तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगर–२६ बीच गत वर्ष सम्झौता भएको थियो। ‘जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा कम्पनीले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ। यही प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।