काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रक्रियालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।
लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च समयमै गर्न सकियो भने समग्र आर्थिक गतिविधिमा यसको सकारात्मक प्रभाव रहने बताए।
'निजी क्षेत्रले दशकौंदेखि उठाउँदै आएको हो। तर, अझै पनि यसमा सुधार हुन सकेको छैन। पुँजीगत खर्चको खर्च प्रक्रिया परम्परागत छ। फागुनसम्म जम्मा १९ प्रतिशत पुँजीगत खर्च भएको तथ्यांक छ। यसलाई सुधार नगरी आर्थिक विकास र सम्मृद्धि हासिल हुन सक्दैन,' उनले भने।
कोभिडपछि आर्थिक गतिविधि बढाउन, वैदेशिक लगानी भित्र्याउन, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न के के उपायहरु हुन सक्छन् भनेर नेपाल उद्योग वाणिज्य महासंघ लागिरहेको बताउँदै ढकालले वैदेशिक लगानीको सहजीकरणका लागि लगानी बोर्डसँग सम्झौता गरी महासंघ अगाडि बढ्न खोजेको जानकारी गराए।
उनले गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्ने क्रम बढ्दै गएको र यसलाई थप प्रोत्साहन गर्न एउटा थ्रेसहोल्ड राखेर सीमित अवधिका लागि कर छुट तथा अन्य सुविधा दिन सकेमा थप वैदेशिक लगानी आकर्षित गर्न सकिने बताए।
उनले राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।