काठमाडौं– क्लास्सिक टेकको भगिनी कम्पनी कारो फिल्म्स प्रालिले लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’को कपिराइट (प्रतिलिपि अधिकार) लिएको छ।
लेखक पाण्डे र कारो फिल्म्स प्रालिकी प्रबन्ध निर्देशक निशा खरेलबीच क्लासिक टेकको मुख्य कार्यालयमा लूको प्रतिलिपि अधिकार हस्तान्तरण गर्ने सम्झौता भएको हो।
यससँगै आगामी दिनमा कारो फिल्म्सले अरु पनि वेब सिरिज रियालिटी शोहरु निर्माण गर्ने बताएको छ।
चलचित्र लूको पटकथा पनि लेखक नयनराज पाण्डेले नै लेख्ने भएका छन्। कारो फिल्म्सले नेपालमा उच्च गुणस्तर एवं रमणीय र बिग बजेट चलचित्रहरु आगामी दिनमा निर्माण गर्ने उद्देश्यले आफ्नो स्थापना भएको बताएको छ।
कम्पनीले नयाँ अत्याधुनिक प्रविधिका फिल्मी सामग्रीहरू नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ। यसले नेपाली फिल्मजगतलाई अझै गुणस्तर बढाउने र रोजगारी पनि सृजना गर्ने कम्पनीको दाबी छ।
साथै आउने दिनमा नेपालको फिल्मी क्षेत्रमा उत्कृष्ट प्रविधि भित्र्याउने र ठूला बजेटका चलचित्र हरु बनाएर नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइमा लाने कारो फिल्म्सको उद्देश्य रहेको प्रबन्ध निर्देशक खरेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।