काठमाडौं– दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म ‘राधे श्याम’ नेपालमा पनि प्रदर्शन हुने भएको छ। शुक्रबारबाट प्रभासको फिल्म ‘राधे श्याम’ नेपालसँगै विश्वभर नै प्रदर्शनमा आउन लागेको हो।
प्रभासको फिल्म्लाई नेपालमा ‘अ ऐट फिल्म्स’ प्रालीले ल्याएको हो। गोपिकृष्ण मुभिजअन्तर्गतको अ ऐट फिल्म्सले यसअघि पनि थुप्रै हिन्दी फिल्महरुलाई नेपालमा ल्याइसकेको छ। बहुप्रतिक्षित फिल्म ‘राधे श्याम’लाई पनि नेपाली दर्शकमाझमा उक्त कम्पनीले लिएर आएको छ।
प्रभासले आफ्नो फिल्म नेपालमा पनि प्रदर्शन हुने भएसँगै नेपाली दर्शकका लागि सन्देश दिएका थिए। भिडियोमार्फत उनले नेपाली दर्शकलाई सम्बोधन गर्दै फिल्मलाई माया गरिदिन आग्रह गरेका छन्।
‘नमस्ते नेपाल, मेरो फिल्म राधे श्याम मार्च ११ बाट प्रदर्शनमा आउँदै छ,’ उनले भनेका छन्, ‘फिल्मलाई सिनेमा घरमा हेर्नुहोला। आशा छ, तपाईंहरुलाई मन पर्नेछ। तपाईंहरुलाई मेरो धेरै धेरै प्रेम।’
प्रभासलाई लिएर नेपालमा निकै क्रेज छ। यसअघि प्रदर्शनमा आएका उनका फिल्महरु ‘बाहुबली’ भाग एक र दुई, ‘साहो’जस्ता फिल्महरु नेपालमा निकै चलेका थिए। प्रभासको नयाँ फिल्म ‘राधे श्याम’लाई लिएर पनि उस्तै अपेक्षा गरिएको छ।
फिल्ममा प्रभाससँगै पूजा हेग्डेको मुख्य अभिनय रहेको छ। सन् १९७० को दशकमा युरोपमा भएको एक प्रेम र नियतीको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्ममा प्रभास विक्रमादित्यको भूमिकामा देखिएका छन्। उनको भूमिका फिल्ममा हातका रेखाहरु पडेर भविष्य भन्न सक्ने पात्रको रुपमा छ, जो आफ्नो नियती र प्रेमको द्वन्द्वमा फसेको हुन्छ। फिल्ममा पुजा भने प्रेरणाको भूमिकामा देखिएकी छिन्।
फिल्मलाई युभि क्रिएसन र टि सिरिजले संयुक्त रुपमा निर्माण गरेका छन्। फिल्मको लेखन तथा निर्देशन राधाकृष्ण कुमारको रहेको छ। कुमारले यसअघि जिल फिल्मको निर्देशन गरेका थिए। शुक्रबारबाट प्रदर्शनमा आउने राधश्याम तेलगु र हिन्दी भाषामा प्रदर्शन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।