काठमाडौं– बलिउड अभिनेत्री आलिया भट्ट व्यस्त नाममध्येमा पर्छ। हालसालै उनको अभिनय रहेको ‘गंगुबाई कठियाबाडी’ प्रदर्शनमा आएको थियो। उक्त फिल्मले सिनेमा हलमा पहिलो दिननै करिब १६ करोड रुपैयाँको व्यापार गरेको थियो। हालसम्म उक्त फिल्मले एक अर्ब ६० करोडभन्दा धेरैको व्यापार गरिसकेको छ।
२०१२ मा प्रदर्शनमा आएको करन जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट बलिउडमा डेब्यु गरेकी आलियाले हालसम्म व्यापारिक रुपमा सफल ‘टु स्टेट्स’, ‘डियर जिन्दगी’जस्ता फिल्मदेखि समिक्षात्मक रुपमा सफल ‘उड्ता पञ्जाब’, ‘हाइवे’जस्ता फिल्महरुमा अभिनय गरिसकेकी छिन्।
आफ्नो करिअरको एक दशकभन्दा लामो समय पुरा गरिसक्दा पनि आलियाले हालसम्म ओटिटी वा डिजिटल डेब्यु भने गरेकी थिइनन्। अब भने आलियाको करिअरमा त्यो पनि थपिने भएको छ।
आलियाले ओटिटी माध्यम नेटफ्लिक्समार्फत डिजिटल डेब्यु गर्न लागेकी हुन्। उनले काम गर्ने प्रोजेक्ट ‘हार्ट अफ स्टोन’ रहेको छ। उक्त प्रोजेक्टमा आलियासँगै हलिउड अभिनेत्री गैल गैडोट र अभिनेता जेमी डोर्नन पनि रहने बताइएको छ। ‘स्पाई थ्रिलर’ विधामा रहेको यो फिल्ममार्फत नै आलिया विश्वव्यापी रुपमा पनि स्क्रिनमा देखिँदै छिन्।
फिल्मलाई ‘स्काइडन्स मिडिया’ले निर्माण गरेको हो भने यसलाई टोम हार्परले निर्देशन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।