काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनको विरोध नगर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
मंगलबार आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले बताए।
कांग्रेसले आसन्न चुनावलक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ।
देउवाले स्थानीयदेखि संघीय तहमा हुन गइरहेको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन दिलाउनेगरी लाग्न समेत निर्देशन दिएका छन्। सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा देउवाको जोड छ।
बैठकमा नेता महरले ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ को सट्टा ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र कांग्रेसको कार्यभार’ नारा राख्नुपर्ने प्रस्ताव गरेका थिए।
आगामी निर्वाचनलाई लक्षित गरी अभियान र रणनीति केन्द्रीय समितिको बैठकबाटै तय हुनुपर्ने उनको भनाइ छ। गठबन्धन गर्दा स्थानीय स्तरको आवश्यकताअनुसार गर्न दिनुपर्ने महरको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।