काठमाडौं- आगामी स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतपत्रमा चुनाव चिह्न हरियो रंगको बनाउने निर्वाचन आयोगको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अनेमसंघको कार्यक्रममा मंगलबार सम्बोधन गर्दै उनले हरियो रंगको चिह्न किन राख्ने? भनेर आयोगलाई प्रश्न गरे। उनले कांग्रेसको चुनाव चिह्न रुख भएको र त्यसै अनुसारको रङ राख्न खोजिएको उनको आशय थियो।
'कसैको हरियो देखिने चिह्न भएर हो?', ओलीको भनाइ थियो, 'कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हो?'
उनले यसबारे आयोगले जवाफ दिनुपर्ने बताए। 'मलाई थाहा छैन। मैले एउटा सञ्चार माध्यममा हेरेको थिएँ। निर्वाचन आयोगले मतपत्रमा चिह्नहरुमा हरियो राख्ने भयो रे। हरियो चिह्न किन राख्ने? के कारणले राख्ने? निर्वाचन आयोगले बताउनुपर्योय। हो कि होइन, मैले निर्वाचन आयोगसँग सोध्न भ्याएको छैन। म अत्यन्त व्यस्त भइरहेको छु। उहाँहरुसँग सोधौँला बुझौँला।'
हरियो चिह्न कुन हिसाब राख्न लागेको भन्दै ओलीले आयोगलाई प्रश्न गरे। 'यदि हो भने कुन हिसाबले राख्ने? यो धार्मिक हिसाबले राख्ने हो? के हिसाबले हो यो चिह्न राख्ने? अथवा कसैको हरियो देखिने चिह्न छ कसैको, त्यसकारण राख्ने? केका लागि राख्ने? सबैतिर जनताले आँखा नदेख्ने, कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्ने हो? किन हरियो राख्ने?'
उनले आयोगले यस्तो त्रुटि सच्याउनुपर्ने बताए।
'यदि हरियो राख्ने निर्णय गरेको हो भने, होइन भने सञ्चार माध्यमले आफ्नो त्रुटि सच्याउनुपर्छ। यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले त्यस्तो त्रुटि सच्याउनुपर्छ। हरियो सरियो हुँदैन' ओलीले भने।
निर्वाचन आयोगले सोमबार विज्ञप्ति निकालेर हरियो रंगको जानकारी दिएको थियो। 'स्थानीय तहको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो SK-3081 Spectrum Green मसीले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको छ', आयोगको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।