काठमाडौं- करिब एक महिना अघि सकिएको नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अधिवेशनका क्रममा अध्यक्षमा दाबी गरेका बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेसमा प्रवेश गरेका छन्।
एमाले जिल्ला अध्यक्षको दौडबाट बाहिरिएसँगै उनले एमाले परित्याग गरेका थिए। कतिपयले एकीकृत समाजवादी प्रवेश गर्न लागेको अनुमान गरिरहँदा उनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
क्षेत्रीलाई मंगलबार पार्टी कार्यालय सानेपामा कार्यक्रम आयोजना गरेर कांग्रेसले स्वागत गरेको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले क्षेत्रीलाई कांग्रेसमा प्रवेश गराएका हुन्।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट क्षेत्री गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए भने उनी एमालेका बागमती प्रदेश सदस्य समेत थिए।
उनीसँगै एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य कृष्ण क्षेत्री, सुवास सन्दास र विष्णु तिमिल्सिना पनि कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता मोहनबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।