काठमाडौं- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि सत्ता गठबन्धनको प्यानलले गोपालकृष्ण घिमिरेलाई अध्यक्षको रुपमा अघि सार्ने भएको छ। डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रमुख निर्वाचन आयुक्त घिमिरेको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी निकटका कानुन व्यवसायी प्यानल बनाएर चुनावी मैदानमा उत्रने भएका हुन्।
सत्तारुढ गठबन्धनका दलहरु निकटका कानुन व्यवसायीहरुले पदमा ‘भागबण्डा’ मिलाएर उम्मेदवारी दर्ता गर्ने सहमति गरेका हुन् । यस्तै, नेकपा एमाले निकट कानुन व्यवसायीहरुको अर्को प्यानल बन्ने भएको छ। बारमा लोकतान्त्रिक पक्षका कानुन व्यवसायीहरुको बाहुल्यता रहँदै आएको छ।
गठबन्धनको प्यानलमा कांग्रेस निकट कानुन व्यवसायीले बारको अध्यक्ष पाउने सहमति भएको छ भने माओवादी केन्द्र निकट कानुन व्यवसायीले महासचिव र एकीकृत समाजवादीले उपाध्यक्ष पाउने सहमति भएको छ।
अध्यक्ष पदका लागि नेपाली कांग्रेस निकट कानुन व्यवसायीका तर्फबाट बारका पूर्व महासचिव सुनिलकुमार पोखरेल र गोपालकृष्ण घिमिरे आकांक्षी देखिएका थिए। बारको २५ सदस्य कार्यसमितिमा कांग्रेस निकट कानुन व्यवसायीहरुले अध्यक्ष, कोषाध्यक्षसहित १५, माओवादी केन्द्र र एकिकृत समाजवादीले १०/१० सिट पाउने सहमति भएको छ।
महासचिवमा अन्जिता खनाल माओवादी र बागमती प्रदेशको उपाध्यक्षमा हर्क रावल एकीकृत समाजवादी निकटका कानुन व्यवसायीले उम्मेदवारी दिने छन्।
बारको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। बारले देशभरबाट निर्वाचनका लागि ३५ वटा मतदान केन्द्र तोकेको छ। २०७८ चैत १९ गते देशैभरबाट मतदान गरी नयाँ कार्यसमिति गयन गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।