काठमाडौं- मधेस प्रदेशका चार जिल्लामा नेपाली कांग्रेसले आज अधिवेशन गर्दैछ। धनुषा, रौतहट, सर्लाही र सिराहामा आज अधिवेशन हुन लागेको हो।
नेता विमलेन्द्र निधिको गृहजिल्ला धनुषामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। निधि पक्षबाट योगेन्द्र पञ्जियार सभापतिमा उठ्ने तयारीमा छन् भने संस्थापन पक्षबाट सन्तोष यादव र संस्थापनइतरले दिनेश यादवलाई सभापतिको उम्मेदवार बनाउने तयारी गरेका छन्।
रौतहटमा संस्थापन पक्षबाट सुनिल यादव र संस्थापनइतरबाट हृदयनारायण यादव सभापति उठ्ने तयारीमा छन्। त्यस्तै सिराहामा संस्थापन पक्षबाट रामचन्द्र यादव र संस्थापनइतरबाट रामसुन्दर चौधरीबी सभापति पदमा प्रतिस्पर्धा हुने देखिएको छ।
सर्लाहीमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतरबाट लक्ष्मण राय यादव सभापति पदका लागि चुनावी मैदानमा छन्।
त्यस्तै आज अछाममा दोस्रो चरणमा मतदान गर्ने तयारी छ। यहाँ पहिलो चरणमा कसैले पनि जितका लागि आवश्यक मत पाएका थिए। सभापतिका तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत पाएका थिएनन्।
सभापतिका लागि पुष्प शाह र भरतकुमार स्वाँरबीच मतदान हुने भएको हो। सभापतिका अर्का उम्मेदवार राजन कुँवर पहिलो चरणबाटै बाहिरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।