काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेता पहिला आफैं बदलिन आवश्यक रहेको बताभएका छन्। स्याङ्जाको वालिङ नगरपालिका–७ केवरे बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोइबोको उद्घाटन गर्दै उनले नेताहरुमा देखिएको अहिलेको प्रवृत्तिले मुलुक नबदलिने बताए।
‘भाषणमा मुलुक बदल्ने कुरा निकै गर्छौं तर व्यवहारमा फरक छ, यसरी मुलुक बदलिँदैन,’ उनले भने, ‘मुलुक बदल्नका लागि सबैभन्दा पहिला नेताहरुमा रहेका कमीकमजोरी तथा सोच परिवर्तन गर्न आवश्यक छ, अनि मात्रै बदलिएको मुलुक बनाउन सकिन्छ।’
एक/दुई जना असल नेता भए मात्रै पनि समाज रूपान्तरण गर्न सकिने उनको भनाइ थियो। ‘खराब नेताले देश डुबाउँछ तर एउटै असल नेता भएदेखि देशको मुहार परिवर्तन गर्छ र माथि उठाउँछ,’ उनले भने, ‘असल नेता भएकै कारण विश्वका केही देशहरुले निकै फड्कोसमेत मारेका छन् विकासशील देशका रूपमा अगाडि उदाएका छन्।’
अब नजिकै स्थानीय तहको निर्वाचन पनि आइरहेकाले नागरिकहरु समयमै सचेत भएर कस्तो नेता छान्ने भन्ने सोच्नुपर्ने बेला भएको उनले बताए। निर्वाचनका बेला बहकाउमा लागियो भने पाँच वर्षसम्म पछुताइरहनुपर्ने भएकाले समयमै सचेत भएर अगाडि बढ्न पनि उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।