काठमाडौं– वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ। ९३ वर्षीय बर्माको आइतबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
छातीमा समस्या देखिएपछि बर्मालाई फागुन ९ गते चावहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि फागुन १४ गते ओम अस्पतालबाट धुम्बाराहीस्थित ह्याम्स अस्पताल सारिएको थियो।
ह्याम्स अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचारकै क्रममा आइतबार उनको निधन भएको हो।
२००७ सालको क्रान्तिमा सप्तरीबाट होमिएका बर्मा लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहे। २०४६ सालको जनआन्दोलनका प्रमुख नेतामध्ये बर्मा पनि एक हुन्।
वर्मा नेतृत्वको तत्कालीन नेकपा पञ्चायत विरोध आन्दोलनमा सामेल थियो।
वर्माको निधनमा कम्युनिस्ट पार्टीका नेताहरुले दु:ख व्यक्त गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा उनको योगदान अविस्मरणीय रहने उल्लेख गरेका छन्।
यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पशुपति आर्यघाटमा नै पुगेर बर्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
दिवंगत वर्माका ४ छोरी, ३ छोरा र श्रीमती छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।