काठमाडौं– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा दलगत रुपमा प्रतिस्पर्धा हुने भएको छ।
सत्तारुढ गठबन्धनका दलहरु निकटका कानुन व्यवसायीहरुले पदमा 'भागबण्डा' मिलाएर प्यानल बनाएका छन्। यस्तै, नेकपा एमाले निकट कानुन व्यवसायीहरुको अर्को प्यानल बन्ने भएको छ।
बारको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीबीच गठबन्धन हुन लागेको हो। बारमा लोकतान्त्रिक पक्षका कानुन व्यवसायीहरुको बाहुल्यता रहँदै आएको छ।
गठबन्धनको प्यानलमा कांग्रेस निकट कानुन व्यवसायीले बारको अध्यक्ष पाउने सहमति भएको छ। यस्तै, माओवादी केन्द्र निकट कानुन व्यवसायीले महासचिव र एकीकृत समाजवादीले उपाध्यक्ष पाउने सहमति भएको छ।
अध्यक्ष पदका लागि नेपाली कांग्रेस निकट कानुन व्यवसायीका तर्फबाट बारका पूर्व महासचिव सुनिलकुमार पोखरेल र गोपालकृष्ण घिमिरे आकांक्षी देखिएका छन्। पोखरेल अधिल्लो निर्वाचनमा अध्यक्षमा पराजित भएका थिए भने घिमिरे कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डीएलएका पूर्व अध्यक्ष हुन्। उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रमुख निर्वाचन अधिकृत थिए।
महासचिवमा माओवादी केन्द्र निकट कानुन व्यवसायी दिनमणि पोखरेलको चर्चा छ। उनी यसअघि पनि महासचिवमा पराजित भएका थिए।
बारको २५ सदस्य कार्यसमितिमा कांग्रेस निकट कानुन व्यवसायीहरुले अध्यक्ष, कोषाध्यक्षसहित १५, माओवादी केन्द्र र एकिकृत समाजवादीले १०/१० सिट पाउने सहमति भएको छ।
बारको निर्वाचनका लागि फागुन २३ गते उम्मेदवारी दर्ता हुँदै छ। बारले देशभरबाट निर्वाचनका लागि ३५ वटा मतदान केन्द्र तोकेको छ। २०७८ चैत १९ गते देशैभरबाट मतदान गरी नयाँ कार्यसमिति गयन गरिने छ।
एमाले निकट कानुन व्यवासायीहरुले वाँकी रहेका दल निकट कानुन व्यवसायीसँग गठवन्धन बनाउन छलफल तीव्र पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।