काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको संसदीय भूमिकाप्रति रोष प्रकट गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत धारणा सार्वजनिक गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग सिफारिस समितिमा सहभागिता जनाएकोबारे टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधि सभाले गठन गरेको महाभियोग सिफारिस समितिमा विष्णु पौडेलसहित एमालेका चार सांसद पनि अटाएका छन्। जसलाई एमालेले समर्थन गरिसकेको छ। निरन्तर संसद् अवरोध गरिरहेको एमालेले समितिमा सहभागिता जनाउनुलाई संसदीय प्रक्रियामा भाग लिएको रुपमा सत्तापक्षले बुझिरहेको छ। यद्यपि, एमाले प्रमुख सचेतक विशाल भट्टराईले यसलाई अस्वीकार गरेका छन्।
उनले संसद् अवरोध गर्नु र महाभियोग सिफारिस समितिमा बस्नुलाई एउटै रुपमा बुझ्न नहुने प्रतिक्रिया दिए।
तर, एमाले नेता रावलले यसमा प्रश्न उठाएका छन्। उनले यसअघि संसद्मा एमसीसी सम्झौताबारेको सैद्धान्तिक छलफलमा भाग लिएका थिए। जसलाई एमालेले पार्टी नीतिविपरीत भन्दै कारबाही गर्ने चेतावनी दिएको थियो।
'नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसद्मा बोल्न नहुने तर प्रधानन्यायाधीश चोलेन्द्रविरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो? कसरी बुझ्ने? संसद् अवरोध के भयो त अब?', रावलले सामाजिक सञ्जाल ट्विटरमा प्रश्न गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।