काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधि सभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडूले संसद्लाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका हुन्।
संसद्को गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भीरतापूर्वक लिएको बताएका हुन्।
सर्वोच्च अदालतले पनि संसद् पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उनले स्मरण गराए। मन्त्री बडुले अर्लि इलेक्सनको कुरा कुनै अजेण्डा र प्रस्तावको रुपमा नआएको स्पष्ट पारे।
मन्त्री बडूले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी पनि गरे। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पु¥याउनका लागि भूमिका खेल्न समितिमा नाम दिएको बताए।
उनले स्थानीय तहको निर्वाचन सार्नका लागि अर्लि इलेक्सनको कुरा उठाइएको पनि बताए। नेम्वाङले महाअभियोग सिफारिस समितिमा बसेर एमालेले संविधान, कानुन र अभ्यास बमोजिम अगाडि बढी महत्त्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।