काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अपूर्ण केन्द्रीय समितिलाई पूर्णता दिएर सकिने भएको छ। गत शुक्रबारदेखि सुरु भएको बैठक सोमबार केन्द्रीय समितिलाई पूर्णता दिएर सकाउने तयारी गरिएको हो।
विभिन्न ६ अजेण्डासहित शुक्रबार सुरु बैठक २ दुई दिन स्थगित गरेर सोमबार सक्ने तयारी गरिएको हो। गबैठकमा ६ अजेण्डामा छलफल गर्ने प्रस्ताव गरिएको थियो। जसमा अध्यक्षको तर्फबाट रिर्पोटिङ गर्ने, एमसीसीबारे छलफल गर्ने, संगठनबारे काम गर्ने भनिएको थियो।
संगठनात्मक काममा केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीलाई पूर्णता दिने प्रस्ताव गरिएको थियो। यस्तै, अर्को अजेण्डामा पार्टी नेताको कार्यविभाजन, स्थानीय निर्वाचन तयारीका विषय थिए। गत शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रिर्पोटिङ र नेता नारायणकाजी श्रेष्ठले एमसीसी बारेमा धारणा राखे। अब सोमबार बस्ने केन्द्रीय समिति बैठकमा अपूर्ण केन्द्रीय समितिलाई पूर्णता दिएर सक्ने तयारी गरिएको छ।
आइतबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बोलाइएपनि गृहकार्य नपुगेको भन्दै दिउँसो २ बजे सारिएको थियो। प्रचण्डनिवास खुमलटारमा चलेको पूर्वस्थायी समिति र केही केन्द्रीय समिति बैठक लम्बिएपछि सोमबार ११ बजेका लागि सारिएको हो।
‘अध्यक्ष प्रचण्ड कमरेडसहित शीर्ष नेताहरु सम्मिलित बैठकमा पार्टी एकतामा जोड दिने एमसीसीमा समान धारणा बनाउने विषयमा लामै छलफल भयो’, बैठकमा सहभागी एक नेताले भने, ‘एमसीसीका विषयमा पार्टीको मिल्दोजुल्दो धारणा बनाउने र एमसीसीका विषयमा छलफल बहस गर्न मन लागेमा त्यसमा खुला छोड्न दिने भन्ने भयो।’
अब अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच चिसिएको सम्बन्ध समेत सुधार भएको बताएको छ। प्रचण्डले पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठ पार्टी छोडेर गएपनि हुन्छ भन्ने घुमाउरो भाषामा अभिव्यक्ति दिएको भन्दै उनी चिढिएका थिए। अन्तत: प्रचण्ड र नारायणकाजीबीच पटक–पटक संवाद भएपछि विवाद साम्य भएको छ।
यस्तै, अब पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो तत्काल नबनाइने ती नेताले बताए। विधान बमोजिम ३०१ जना केन्द्रीय सदस्य बनाउने भनिएपनि अहिलेसम्म २४६ जना मात्रै बनाइएको छ।
दैनिक कार्य सञ्चालन गर्न केन्द्रीय कार्यालय टिम बनाउने गृहकार्यमा प्रचण्ड जुटेको बताएको छ। केन्द्रीय समितिबाट मात्रै पार्टीको निर्णय गर्न गाह्रो हुने भएकाले केन्द्रीय कार्यालय टिम बनाउन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।