काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाभियोग ठीक ढंगले निष्कर्षमा पुर्याउनक लागि सिफारिस समितिमा नाम दिइएको बताएका छन्।
आइतबारको प्रतिनिधि सभामा प्रस्ताव र अनुमोदन भएको सिफारिस समितिमा एमालेका तर्फबाट चार जना सांसद्को नाम छ। त्यसबारे नेम्वाङले भने, 'यो महाभियोगको प्रक्रियालाई ठीक ढंगले निष्कर्षमा पुर्याउनका लागि, ठीक ढंगले उपयुक्त निष्कर्षमा पुर्याउनका लागि हामीले भूमिका खेल्न भनेर संसद् सचिवालयलाई नाम दिएका हौँ।'
उनले ती नामहरु उपलब्ध गराए पनि संसद् बैठक भने अवरोध गरिरहने बताए। 'संसद्का समितिका बैठकहरुमा अहिले पनि हामी भाग लिइरहेका छौँ। त्यसैले आजबाट यसमा संलग्न भएको भन्ने होइन। आजै पनि यो समिति पारित भइरहँदा हामी प्रतिनिधि सभाको वेलमा नारा लगाइरहेका थियौँ', उनले भने।
आइतबारको प्रतिनिधि सभाबाट महाभियोग छानबिन सिफारिस समिति गठन भएको छ। ११ जना सदस्य रहेको सो समितिमा एमालेको तर्फबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिबमाया तुम्बाहाम्फे र कृष्ण भक्त पोखरेल पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।