सुवासचन्द्र नेम्वाङ, फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले स्थानीय तहको निर्वाचनलाई अझै पनि पर धकेल्ने प्रयास हुन सक्ने बताएका छन्।
आइतबार बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले अर्ली इलेक्सनको कुरा गरेर स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने प्रयास भइरहेको बताए।
‘अर्ली इलेक्सनको कुरा गरेर स्थानीय तहको निर्वाचन प्रभावित पार्ने रणनीति हो भन्ने हामीले बुझेका छौं,’ नेम्वाङले भने।
हिजो चुनावमा जानुपर्छ भन्दा 'प्रतिगमन भयो' भन्नेहरुलाई अहिले अर्ली इलेक्सनको किन चाहिएको रहेछ? भन्दै नेम्वाङले प्रश्न गरे । ‘स्थानीय तहको निर्वाचनलाई पर पुर्याउने, निर्वाचनलाई गडबड गर्ने लगायतका काम हुन सक्छ। सचेत हुनुपर्छ,’ उनले भने,‘अहिले नै ढुक्क हुने अवस्था छैन। यसमा चनाखो हुनुपर्छ।’
उनले सत्ता गठबन्धनले अनेक नाममा कहिले अदालतमा मुद्दा हालेर त कहिले अनेक हिसाबले स्थानीय तहको निर्वाचन सार्न खोज्ने षडयन्त्र गरे पनि सबैको दबाबले मिति घोषणा गर्न बाध्य भएको नेम्वाङको भनाइ छ।
‘हामीले विशेष कारणबस नै जनतामा जाउँ न भनेको नै हो। हामी अडिक नै छौं। अर्ली इलेक्सनका विषयमा उहाँहरु कसरी अगाडि आउनुहुन्छ त्यो हेरेर मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘साँच्चिकै चुनाव गर्न खोजेको हो कि अरु केही?’
एमालेले संसदीय प्रणालीमा विश्वास गर्ने भन्दै उनले महाभियोगको प्रक्रियालाई ठिक हिसाबले उपयुक्त निष्कर्षमा पुर्याउनका लागि भूमिका खेल्न भनेर सिफारिस समितिमा नाम दिइएको बताए।
‘संसद्का समितिका बैठकमा अहिले पनि भाग लिइरहेका छौं। आज पनि यो समिति पास भइरहँदा हामीले अवरोध गरिरहेका थियौं। यो संसद्मा हामीले जुन विरोध गरिरहेका छौं, रहर होइन वाध्यता हो,’ उनले भने,‘हाम्रा कारणले समस्या भयो भन्नु गलत हो। सरकारले आफूले चाहेको काम अघि बढाउन कुन ठाउँमा रोकिएको छ? गलत खालका काम कारबाही त गरिरहेको नै छ।’
सभामुख संसद्को नेता भएपनि नेकपा एमालेको हकमा भेदभावपूर्ण व्यहार भएको उनले बताए। ‘खेल सञ्चालन गर्न रेफ्री बनाएको हो, तर उहाँले त हाम्रैं गोलपोस्टमा गोल गर्नुभयो। गलत हिसाबले पार्टीलाई चोइट्याउने काम भयो,’ नेम्वाङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।