काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय प्रक्रियामा सहभागी भएको संकेत देखिएको बताएका छन्।
महाअभियोग सिफारिस समितिमा नेकपा एमालेले नाम दिएर सहभागीता जनाउनुले संसद् सुचारु हुने सकारात्मक संकेतका रुपमा सरकारले लिएको मन्त्री बडुको भनाइ छ।
आइतबार प्रतिनिधि सभाको बैठक सकिएपछि संघीय संसद् भवनबाट बाहिरिने क्रममा मन्त्री बडुले भने, ‘महाअभियोग सिफारिस समितिमा पनि नेकपा एमालेको सहभागिता भएकाले केही संकेत देखिएको हो कि भन्ने हामीले बुझेका छौं।’
महाअभियोग सिफारिस समितिमा एमालेको सहभागिता सकारात्मक विषय भएको मन्त्री बडुको भनाइ छ। ‘यो सकारात्मक विषय हो। अब संसद् क्रियाशील हुन्छ भन्ने हाम्रो भनाइ हो,’ बडुले भने।
संसद् सधैं अवरोध भइरहे यसको प्रयोजन नरहने भन्दै मन्त्री बडुले यस विषयमा जनताबाट पनि प्रश्न उठ्न सक्ने बताए।
उनले फागुन २९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध कायम नरहन सक्ने बताए। ‘सरकारले पनि प्रतिपक्षी दलसँग संवाद र छलफल गरिरहेको छ,’ उनले भने, ‘थुप्रै विधेयक रोकिएका छन्। मानिसहरुले समस्या भोगेका छन्। अब केही सुधार हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।