काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका समिति बनाउन दलहरू सहमत भएका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था समिति बैठकले ११ सदस्यीय छानबिन समिति बनाउने सहमति गरेको हो। प्रतिनिधि सभा नियमावली २०७५ काे नियम १६२ मा समिति बनाउने प्रावधान छ। जसअनुसार बढीमा ११ सदस्यीय समिति बनाउने सकिने व्यवस्था छ।
समितिले काम सुरु गरेको बढीमा ३ महिनाभित्र सिफारिसहितको प्रतिवेदन दिनुपर्नेछ। समितिले महाभियाेग अघि बढाउने नबढाउने सिफारिससहितको प्रतिवेदन बुझाउनेछ।
छानबिन समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि सहभागी हुने भएको छ। कार्यव्यवस्था समितिको बैठकमा एमाले सहभागी नभएपनि उसले छानबिन समितिमा बस्न सहमति जनाएको छ। टेलिफोनमार्फत् एमालेसँग सहमति लिइएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले सबै दलसँग समितिमा रहने सांसदहरूको नाम मागिरहेका छन्। सम्भवतः आजकै प्रतिनिधि सभा बैठकबाट समिति गठन हुनेछ।
प्रधानन्यायाधीश राणामाविरुद्ध फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो। त्यसपछि निलम्बनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।