काठमाडौं– पप्पु कन्ट्रक्सनले हालेका पाँच थान मुद्दा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी चढेका छन्। पप्पुका तर्फबाट मध्यपहाडी लोकमार्गदेखि सिक्टा सिंचाई आयोजनसम्मको विवादमा हालेको मुद्दा सुनुवाइका लागि पेसी तोकिएको हो।
पप्पुका तर्फबाट सुमिन रौनियारले विभिन्न मितिमा सर्वोच्चमा रिट दायर गरेका थिए। कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश मनोज शर्माको पूर्ण इजलासमा अन्तिम नम्बरमा पेसी रहेको छ। पहिलो मुद्दा २०७६ कात्तिक ५ गते पप्पुका तर्फबाट रौनियारले मध्यपहाडी लोकमार्गको आयोजना कार्यालयलाई विपक्षी बनाउँदै दायर गरिएको थियो। दोस्रो मुद्दा २०७७ चैत २ गते सिक्टा सिंचाई आयोजनालाई विपक्षी बनाउँदै दायर गरिएको थियो।
तेस्रो मुद्दा २०७७ चैत १८ गते सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई विपक्षी बनाएर दायर गरिएको थियो। चौंथो मुद्दा २०७८ वैशाख १० गते सार्वजनिक खरिद अनुगमन कार्यालयलाई नै विपक्षी बनाएर दायर गरिएको थियो। पाँचौ मुद्दा २०७८ भदौ ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको थियो। सर्वोच्चले पप्पुका सबै मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश यसअघि गरेको थियो।
इजलासले पेसीको दिन नै तोकेर आदेश गरेको थियो। तर, आइतबार पनि उक्त मुद्दामा पालो आउने सम्भावना छैन। पप्पुले पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले आफूलाई अन्याय गरेको भन्दै रिट दायर गरेको थियो। २०६४/०६५ मा निर्माण सुरु भएको आयोजना २०७३/०७४ मा सक्ने लक्ष्य राखिएको थियो। तर, अझै ६५ प्रतिशत लक्ष्य हासिल हुन सकेको छैन।

पछिल्लो संशोधित तालिका अनुसार आगामी वर्ष सक्ने लक्ष्य राखिएको छ। आयोजना निर्माण सुरु हुँदा ३३ अर्ब ३६ करोड अनुमान गरिएको थियो। विभिन्न कारणले आयोजना धकेलिँदै गएपछि अहिले लागत ८४ अर्ब ३३ करोड (संशोधित) रुपैयाँ पुग्ने भनिएको छ।
अहिलेसम्म ५३ अर्ब ३४ करोड १६ लाख (६३.२५ प्रतिशत) रुपैयाँ खर्च भइसकेको छ। आयोजनाले गत वर्ष विनियोजित ७ अर्ब ६५ करोड रुपैयाँमध्ये ९४.०८ प्रतिशत खर्च गरेको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना अन्तर्गत निर्माण हुने कूल १८७९ मध्ये आयोजनाबाट ६५१ र अन्य आयोजनाबाट ४६२ गरी कुल १११३ किलोमिटर सडक कालोपत्रे भएको छ।
१३७ मध्ये ९० वटा पुल निर्माण सम्पन्न भएको छ। १८ वटा निर्माणाधीन अवस्था रहेका छन् भने २९ वटा ठेक्का व्यवस्थापन हुन बाँकी छ। यीमध्ये केही पुलको ठेक्का पप्पुले पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।