काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि (सोमबार) सम्मका लागि स्थगित भएको छ। आइतबार बिहान बस्ने भनिएको केन्द्रीय समिति बैठकको समय सार्दा पनि बस्न नसकिने भएपछि भोलि (सोमबार) बस्ने गरी सरेको हो।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले सोमबार बिहान ११ बजे बस्ने गरी बैठक सारिएको जानकारी दिए।
आइतबारको बैठकमा पदाधिकारीहरुको टुंगो लगाउने अपेक्षा गरिएको थियो। पदाधिकारीका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निवासमा नेताहरुको बैठक समेत बसेको थियो।
तर, पदाधिकारी (खास गरेर महासचिव)को टुंगो लाग्न नसकेपछि थप 'गृहकार्य' गर्नेगरी बैठक सारिएको हो।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबारबाट सुरु भएको हो। शुक्रबारको बैठकमा अमेरिकी अनुदान सम्झौता (एमसीसी)का विषयमा छलफल भएको थियो। शुक्रबारपछि आइतबार बस्ने गरी बैठक सारिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।