काठमाडौं– नेकपा माओवादी केन्द्रमा महासचिव कसलाई बनाउने भन्ने विषयमा लफडा बढ्दै गएको छ। महासचिव छान्न नसकेपछि पदाधिकारी नै नराख्ने गृहकार्यमा माओवादी पुगेको छ।
पदाधिकारी बनाउँदा नेताहरुबीच थप विवाद बढ्ने भएपछि केन्द्रीय कार्यालय (हेडक्वार्टर टिम) बनाएर टुंगो लगाउने गृहकार्य थालिएको हो। दैनिक कार्यसञ्चालन गर्न कार्यालय टिम मात्रै बनाएर स्थानीय चुनावमा जाने माओवादीको तयारी छ।
आठौं महाधिवेशनका बेला नेता वर्षमान पुन चीनमा उपचारत थिए। त्यसकारण माओवादीले पदाधिकारी टुंगो लगाएको थिएन। उनी फर्किएपछि टुंगो लाग्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका थिए। तर, पुन स्वदेश फर्किएको झण्डै दुई महिना पुग्दा समेत पदाधिकारी चयन हुन सकेको छैन।
स्वास्थ्य अवस्थाले गर्दा पुन सक्रिय राजनीतिमा लाग्न नसक्ने सम्भावना देखेपछि अध्यक्ष प्रचण्डले जनार्दन शर्मालाई महासचिव बनाएर जाउँ भनेर प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले बताए।
‘वर्षमान कमरेडले स्वास्थ्यका कारण सक्रिय रुपमा लाग्न सक्ने नदेखेर अध्यक्ष कमरेडले जनार्दनजीलाई महासचिव बनाएर जाउँ भनेर प्रस्ताव गर्नु भएछ। त्यसपछि कतिपय नेताहरु पदाधिकारी नै नबनाएर गएमा राम्रो हुने भन्दै अध्यक्षलाई सुझाव दिन थाल्नु भएको छ’, ती नेताले भने, ‘त्यसपछि पार्टीमा पदाधिकारी बनाएर जाने वा केन्द्रीय कार्यालय टिम मात्रै बनाएर जाने भन्ने विषयमा छलफल हुन थाल्यो। यद्यपि, यो विषयमा निष्कर्षमा पुगिसकेका छैनौं।’
महासचिवको दौडमा जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेललगायत नेताहरू छन्। नेताहरूले तीब्र लविइङ गर्न थालेपछि प्रचण्ड पनि पदाधिकारी नै नबनाएर अघि बढ्ने दिशामा अग्रसर देखिन्छन्।
केन्द्रीय कार्यालय टिम बनाएर जाने विषयमा प्रचण्ड समेत सकारात्मक देखिएको एक अर्का केन्द्रीय सदस्य दाबी गर्छन्। ‘अध्यक्षको संकेत बुझ्दा पदाधिकारी नै नबनाएर जाने जस्तो देखियो। अब पार्टी बन्ला भनेको नबन्ने भयो’, ती केन्द्रीय सदस्यको दु:खेको छ, ‘पार्टी निर्माणमा अध्यक्षले थोरै ध्यान दिएको भए राम्रो हुन्थ्यो। त्यसमा ध्यान दिएको देखिएन।’
केन्द्रीय समिति, पोटिलब्यूरो, स्थायी समिति र पदाधिकारी बनाएर चुनावमा जाँदा धेरै सजिलो हुने ती नेताको बुझाइ छ। महाधिवेशन सकिएको दुई महिना पुग्दा समेत केन्द्रीय समितिले पूर्णता पाएको छैन। कूल ३०१ केन्द्रीय समिति बनाउने भनिएपनि हाल २४६ जना मात्रै केन्द्रीय सदस्य छन्। बाँकी मनोनित गरिएको छैन। पोलिटब्यूरो र स्थायी समिति पनि बनाइएको छैन।
पूर्वस्थायी समितिको बैठक भन्दै माओवादीको निर्णय हुँदै आएको छ। तर, कतिपय नेताहरूले पूर्वस्थायी समिति अवैधानिक भन्दै त्यसको निर्णय मान्न नसकिने अभिव्यति दिने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।