काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिएका छन्।
नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिए। जुनसुकै पार्टीम भए पनि आफ्नो समुदायको हकहितका लागि नेवारहरु एक हुनैपर्ने उनले बताए।
श्रम मन्त्रालय निकै अप्ठ्यारो मन्त्रालय भएको चर्चा गर्दै उनले त्यहाँ भएका विकृति र विसङ्गति अन्त्य गर्ने अभियानमा लागिपरेको बताए। ‘जनताको भरोसालाई टुट्न नदिने गरी काम गर्नेछु,’ उनले भने, ‘मलाई यो गाउँबाट भोट आयो कि आएन भनेर हेरेको छैन, कसैलाई काखापाखा गरेको छैन, विकासमा सबैलाई समेट्ने प्रयास गरेको छु।’
कार्यक्रममा नेवाः देय दवुका नेताहरु शङ्करनारायण श्रेष्ठ, तारालाल मल्ल र ताराप्रसाद श्रेष्ठलगायतले नेवार समुदायमा एकताको भावना हुनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।