काठमाडौं– नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापतिमा नागेश्वर यादव विजयी भएका छन्। विजयी नागेश्वरले कुल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेद्वार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गरेका थिए। पहिलो चरणमा कुनै उम्मेद्वारले ५० प्रतिशत मत नकटाए पनि दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएपछि उनी सभापति बनेका हुन्।
कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा गरिएको निर्वाचन समितिका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए।
कांग्रेसको १४औँ महाधिवेशन क्रममा यसअघि बिभिन्न कारणले अल्झदै आएको जिल्ला अधिवेशनको मतदान शुक्रबार सम्पन्न भएको हो। मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेका निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए।
सभापतिमा विजयी नागेश्वर पञ्चायतकालदेखि नै कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आउनुभएको हो । यसअघि नेपाल विद्यार्थी सङ्घको बिभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसकेका यादव १३औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उमेद्वार बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।