काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताएका छन्।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा शनिबार आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक सभालाई सम्बोधन गर्दै उनले पार्टी एक रहेको बताएका हुन्। नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी नभएको उनको भनाइ थियो।
सिद्धान्त र विचार नमिल्ने कम्युनिष्टसँग तालमेल गरेर नेपाली कांग्रेस चुनावमा नजाने भन्दै कोइरालाले कांग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेबताऐ। ‘कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो,’ उनले भने ‘गठबन्धनका आगामी चुनावसम्मका लागि होइन।’
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भावनात्मक एकता र व्यवहारले मात्र राष्ट्रवाद बलियो हुने भन्दै जनता विभाजित गरेर राष्ट्रवाद हुन नसक्ने बताए। लोकसेवा उत्तीर्ण राष्ट्रसेवक कर्मचारी र जनताबाट उत्तीर्ण जनप्रतिनिधिले भ्रष्टाचारलाई रोक्नुपर्ने विचार उनले व्यक्त गरे।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको १४औँ महाधिवेशनले एउटा थिति बसालेको बताउँदै नेपाली कांग्रेस अर्धवाचन र वाचन गरेर नेतृत्व छनोट गर्ने पार्टी नभएको जिकिर गरे। उनले एमसिसी देश र जनताकै हित रहेको बताए। साथै, आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएर छाड्ने कुरामा उनले जोड दिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाली कांग्रेस जहिले जनता र राष्ट्रका निम्ति अघि बढिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।