काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका थापाले अमेरिकी अनुदान सम्झौता (एमसीसी) संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरुले दबाब र प्रभाव दिएको उल्लेख गर्दै उनीहरुकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले एससीसी 'छिटो पास गर' भनेर अमेरिकाले दबाब दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्न सक्ने देखिएको बताए।
विदेशी शक्ति राष्ट्रहरुले नेपालको स्वतन्त्र अस्तित्वमाथि नै प्रश्न उठनेगरी राजनीतिक दलहरुका नेताहरुलाई दबाब दिइरहेको दाबी समेत थापाले गरे। एमसीसी प्रकरणमा भएका गतिविधिले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको थापाको भनाइ छ।
‘सबभन्दा डरलाग्ने र खतरा कुरा के भने नेपाल विस्तारै विश्व महाशक्तिको चलखेलको केन्द्र बन्न लागेको स्पष्ट हुन्छ। यही एमसीसीको कुरा गर्दा अमेरिकी पदाधिकारीहरु भन्छन–चाँडोभन चाँडो निर्णय गर, नभए खारेज गर्छौं। चीनका पदाधिकारीहरु भन्छन्–जबरजस्ती अनुदान दिनु हुँदैन। नेपालले अनुदान लिने वा नलिने भन्नेकुरा हामीले निर्णय गर्ने कुरा हो। देशलाई हित हुन्छ भने लिन्छौं, हुँदैन भने हामी लिँदैनौं। तर विदेशी शक्तिको दवाव र प्रभाव हाम्रो राजनीतिक दलका नेताहरुलाई परिरहेको छ। यसले नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामाथि पनि गम्भिर प्रश्न खडा भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।