काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले सङ्घीय निजामती सेवा ऐनलाई अगाडि बढाउन र कर्मचारी समायोजनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
'निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन गरिन्छ, जनतालाई मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्छ,' प्रधानमन्त्री देउवाले भने।
राजनीतिका आधारमा निजामती कर्मचारीलाई भेदभाव नगरी राष्ट्रहितका लागि उनीहरुलाई लगाउनुपर्ने उनको भनाइ थियो । देउवाले प्रभावकारी ढङ्गले काम गर्न कर्मचारीलाई आग्रहसमेत गरे।
प्रधानमन्त्री देउवाले ट्रेड युनियनको अधिकारलाई संविधानले स्पष्ट व्याख्या गरेको बताउँदै ट्रेड युनियनलाई व्यवस्थित र परिमार्जन गर्दै लैजानको लागि सरकारको पूर्ण समर्थन रहने उल्लेख गरे।
निजामती कर्मचारीले सरकारको नीति र योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै लैजानुपर्ने उनको भनाइ थियो।
सरकारलाई सफल बनाउने जिम्मा भनेको निजामती कर्मचारी भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, 'लोकतान्त्रिक मुलुकमा निजामती सेवाको महत्वपूर्ण भूमिका रहेको छ, निजामती कर्मचारी कानुनप्रति इमान्दार, बफादार, अब्बल र अनुशासित हुनुपर्छ।' सरकार र जनताबीच निजामती कर्मचारीले पुलको काम गर्दै आएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।