काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले घृणित दक्षिणपन्थी अवसरवादको अगुवाइ माधवकुमार नेपालले गरिरहेको टिप्पणी गरेका छन्। ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘४५ वर्ष काम गर्दा माधव नेपाललाई बुझेको छु। केपी ओलीले गल्ती गरे भनेको नाममा प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने काम गरे। दक्षिणपन्थीको ठोस अभिव्यक्ति अपराधपूर्ण काम भएको छ,’ उनले भने, ‘घृणित दक्षिणपन्थी अवसरवादको अगुवाइ माधव नेपालले गरेका हुन्। अलमलिएका साथीहरुलाई फिर्ता ल्याउँ, तर, अगुवाइ गरेको व्यक्तिप्रति कुनै सहानुभुति नराखौं।’
केही मानिसहरु पार्टी छोडेर बाहिर गए पनि विचारमा प्रष्ट नभएका मानिसहरुको भीड जम्मा गरेर केही नहुने पोखरेलको भनाइ छ।
उनले स्थानीय तह र अन्य निर्वाचनमा नेकपा एमालेले ०७४ सालको निर्वाचनकोभन्दा राम्रो परिणाम ल्याउने दाबी गर्दै निर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिए।
‘जित्ने व्यक्ति मात्रै उम्मेदवार हुनुपर्छ संघ, प्रदेश र स्थानीय तहमा। जित्ने भएर मात्रै होइन, टिक्ने मानिस पनि चाहिन्छ,’ उनले भने, ‘स्थानीय तहको पार्टी कमिटीले सिफारिस गर्दा जित्ने र टिक्ने चाहियो। एमालेले उम्मेदवार छनोटको काम तल्लो कमिटीबाट नै सिफारिस भएर आउनुपर्छ।’
एमाले चौतर्फी रुपमा घेराबन्दीमा रहेको भन्दै उनले चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।