काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संसद्मा गतिरोध उत्पन्न भएकाले जनताका समस्याहरु, मुलुकका जल्दाबल्दा समस्यामा छलफल हुन नसकेको बताएका छन्। कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले अवरोधकै कारण जनताका समस्यामाथि छलफल गरेर निर्णय हुन नपाइरहेको बताए।
'म भन्न चाहन्छु, यो संसद्को गतिरोध अन्त्य हुनुपर्छ। अब नेपालको संसद् यसरी संसद्मा जाने, संसद्को काम नगर्ने, संसद् नचल्ने, जनताका समस्यामा छलफल नगर्ने, जनताका काम नगर्ने, केवल गएर मात्रै फर्किने, अब यस्तो संसद्चाहिँ हुनुहुँदैन। अब नयाँ सांसद आउनुपर्छ। जसले संसद्मा काम गरुन्। जनताको समस्यामा छलफल गरुन्। र जनताको समस्या समाधान गर्न सकुन्', उनले भने।
पौडेलले संसद् सुचारु हुनुपर्नेमा जोड दिए। सुचारु नहुने हो भने जनताको काम गर्ने सांसद आउनुपर्ने उनको भनाइ छ। 'जनताको काम नगर्ने सांसद उतै गाउँतिर फर्केर बस्नुपर्छ। उनीहरु फर्किएर आउनुहुँदैन', उनले भने, 'सांसदको हैसियतको काम नगर्ने सांसदहरु अब फर्किएर आउन जरुरी छैन। देशका लागि बोझ हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।