काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले कांग्रेसरुपी हात्ती चुनावको मैदानमा लम्निक थालेको भन्दै हात्तीको ठूलो कान देखेर केही चमेराहरु कानमा ओत लाग्न खोजिरहेको टिप्पणी गरेका छन्। कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै गुरूङले यस्तो बताएका हुन्।
सत्ता गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन चुनावमा पनि सहकार्य गरेर जानुपर्ने बताइरहेका बेला उपसभापति गुरूङको यस्तो टिप्पणी आएको हो। उनले कुनै राजनीतिक दलको नाम उल्लेख गरेनन् तर उनको अभिव्यक्ति माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति लक्षित रहेको बुझ्न सकिन्थ्यो। ‘वास्तवमा कांग्रेस हात्ती नै हो। हात्ती लम्कन्छ। लम्किदै गर्दा कुकुरहरु पनि भुक्ने गर्छन्। धेरै दिन भएको छैन दुई चार दिन अगाडी कांग्रेसरुपी हात्ती लम्कदै बानेश्वर पुग्यो केही कुकुर भुक्ने काम पनि भयो,’ उनले भने,‘तर, एमसीसी पास भयो।’
गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी पास गर्न नहुने भन्दै असहमति राखिरहँदा तीनका भ्रातृ संगठनले बानेश्वरमा विरोध प्रदर्शन गरिरहेका थिए। गुरूङको यो टिप्पणी तीनै पार्टीप्रति लक्षित रहेको थियो।
‘२०७९ साल निर्वाचनको वर्ष हो। त्यसैले कांग्रेस रुपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ। लम्किदै गर्दा खेरी हात्तीको ठूलो कान देखेर चमेराहरु हात्तीको कानमा ओत लाउन खोज्दैछन्,’ उनले भने, ‘हात्तीको कानमा ओत लाग्ने चमेरोको भरोसा हुन्न भन्ने हामीलाई थाहा छ। चमेरोले हात्तीलाई केही सहयोग गर्न सक्दैन बरु दुर्गन्धित बनाउन सक्छ।’
एकीकृत समाजवादी र माओवादी केन्द्रले चुनावमा गठबन्ध गरेर जान जोडबल गरिरहेका बेला उपसभापति गुरुङको यस्तो भनाइ आएको हो।
उनले निर्वाचनका विषयमा नेपाली कांग्रेसको आफ्नो प्रष्ट रोडम्याप रहेको भन्दै नेपाली कांग्रेस जनताकोबीचमा स्थापित भएको पार्टीले निरन्तर लम्किदै अघि बढ्नुपर्ने बताए।
प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासमेत सहभागी रहेको कार्यक्रममा उपसभापति गुरूङले यस्तो टिप्पणी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।