नेपालगञ्ज- बाँकेका पुराना र प्रभावशाली सांसद नै उम्मेदवार छनोटको पहिलो सूचीमा नपरेपछि आसन्न चुनावमा नयाँ अनुहारले अवसर पाउने भएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवार छनोटको पहिलो सूचीमा पर्न नसकेका कारण बाँकेबाट निर्वाचित नेकपा एमालेका तीन सांसद यतिबेला तनावमा छन्।
बाँकेमा प्रतिनिधिसभामा ३ तथा प्रदेशसभामा लागि ६ सिट छ। जसमध्ये प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट पार्टीको आन्तरिक निर्वाचन जितेर पार्टी अध्यक्ष अशोक कोइराला, युवा नेता सूर्य ढकाल र महिला नेतृ भारती खनाल सिफारिस भएका छन्। पार्टीको आन्तरिक निर्वाचन जितेर पुन: उम्मेदवार बन्न सक्ने अवस्था नभएपछि सोही क्षेत्रबाट निर्वाचित सांसद देवराज भार चुनावी मैदानमै उत्रिएनन्। भार बाँके एमालेको सचिव हुँदै केन्द्रीय सदस्यसम्म बनेका पुराना नेता हुन्।
बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदबारका लागि भएको आन्तरिक निर्वाचनमा पराजित भएका कारण सोही क्षेत्रका सांसद दलबहादुर सुनार पनि प्रतिस्पर्धाको मैदानमा उत्रन पाएनन्। उनी केन्द्रीय सदस्य, समानुपातिक र प्रत्यक्ष गरेर दुई पटक सभासद र केही समय राज्यमन्त्री समेत भएका थिए।
क्षेत्र नम्बर ३ बाट पार्टीका पूर्वअध्यक्ष नन्दलाल रोकाय, युवा नेता कमल बस्नेत र एकता शाह छनौट भएका छन्।
क्षेत्र नम्बर २ बाट भने हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहका पशुपतिदयाल मिश्राको नाम मात्रै सर्वसम्मत सिफारिस भएको छ। एमालेको केन्द्रीय नेतृत्व र त्रिपाठी समूहबीचको लिखित सहमतिअनुसार मिश्रा एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।
मिश्राको एकल नाम सिफारिस भएका कारण त्यस क्षेत्रका निर्वाचित सांसद दिनेश यादव पनि उम्मेदवार छनोटको पहिलो चरणबाटै बाहरिए। मधेसी समुदायबाट एमालेका केन्द्रीय सदस्य समेत भएका कारण यादव समानुपातिकको सूचीमा पर्न सक्ने झिनो सम्भावना भने कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।