काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पर्सिसम्मका लागि स्थगित भएको छ।
शुक्रबारदेखि सुरु भएको दोस्रो पूर्ण बैठक पर्सिसम्मका लागि स्थगित भएको हो। बैठक पर्सि बिहान ११ बजे अनुपम फुडल्याण्ड बानेश्वरमा बस्नेछ।
शुक्रबारको बैठक भने राष्ट्रिय सभा गृहमा बसेको थियो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी अनुमोदन लगायतको विषय रिपोर्टिङ गरे। उनले एमसीसी अनुमोदन भएपछि गठबन्धन जोगिएको र यो गठबन्धन आउँदो चुनावसम्म कायमै रहने बताएका थिए। उनले गठबन्धन नजोगाएको प्रतिगामी शक्तिले टाउको उठाउने अवस्था रहेको समेत बताए।
त्यस्तै, केन्द्रीय समितिको बैठकमा संगठनात्मक काम बारे पनि अजेन्डा राखिएको छ। जसअन्तर्गत केन्द्रीय समितिमा थप गर्नेबारे, पदाधिकारी चयन, स्थायी र पोलिटब्यूरो गठन गर्ने विषय पनि समावेश गरिएको छ। नेताहरुको कार्यविभाजनको बारेमा पनि बैठकले छलफल गरेर निर्णय गर्ने बताइएको छ।
त्यस्तै, स्थानीय तहको निर्वाचनको तयारीका बारेमा पनि पार्टीको केन्द्रीय समिति बैठकको अजेन्डाका रुपमा रहेको छ। आजको बैठकमा विभिन्न नेताहरूले आफ्नो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।