फाइल तस्बिर।
काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले पार्टीभित्र अल्पमत विचारको पनि कदर हुने बताएकी छन्। महाधिवेशनपछि शुक्रबार काठमाडौंमा सुरु भएको दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकमा एमसीसीका विषयमा फरक मत राखेका नेताहरुको विषयमा छलफल हुने बताएकी हुन्।
उनले एमसीसी शीर्ष नेतृत्व तहमा नै छलफल भएपछि व्याख्यात्मक घोषणा गरेर अनुमोदन गर्ने विषयमा पार्टी सहमत भएको भन्दै फरक मत राखेका साथीहरुको विषयमा पनि बैठकमा छलफल हुने बताइन्।
‘पार्टीभित्र नै छलफल बहस गरेर निष्कर्ष निकाल्ने भन्ने नै रहेको छ। एउटा निष्कर्षमा हामी पुग्छौं। एमसीसीको विषयमा जस्ताको त्यस्तै पारित भएको होइन त्यसमा असहमतिका बुँदामा स्पष्ट रुपमा अडान राखेर व्याख्यात्मक घोषणा गरेका हौं,’ उनले भनिन्, ‘केन्द्रीय सदस्यहरुले विभिन्न विषयमा धारणा राख्नुहुन्छ। हाम्रो पार्टीभित्र अल्पमतको विचारको पनि कदर हुन्छ। विभिन्न प्रकारका बुझाइ र तर्कहरु उत्पन्न भए ती विषय केन्द्रीय समिति बैठकमा नै छलफल हुन्छ।’
उनले बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसीका विषयमा प्रष्ट पारेको जानकारी दिइन्। ‘अध्यक्षले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गर्नुभएको छ। महाधिवेशनले जे निर्णय गरेको थियो एमसीसीका बारेमा त्यही अडानमा थियौं। तर, व्याख्यात्मक घोषणाको प्रस्ताव आइसकेपछि हामीले त्यसलाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरेका हौं,’ अध्यक्षको भनाइ उधृत गर्दै उनले भनिन्।
अध्यक्ष दाहालले आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने भन्दै चुनावी गठबन्धनका विषयमा ठोस रुपमा एकै ठाउँमा पुगिनसकेको बताएका थिए।
उनले केन्द्रीय समितिको बैठकमा पदाधिकारी, स्थायी, पोलिटब्यूरो लगायतको अजेण्डा रहेको भन्दै ती एजेण्डा विषयमा बैठकमा नै छलफल गरेर निष्कर्षमा पुगिने जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।