काठमाडौं- नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य 'किरण'ले एमसीसीको व्याख्यात्मक घोषणा भनेर राजनीतिक दलहरुले भ्रमजाल फालेको बताएका छन्। उक्त व्याख्यात्मक घोषणालाई अमेरिकाले नस्वीकारेको उनको बुझाइ छ।
एमसी अनुमोदनका विपक्षमा ६ दल र दुई मोर्चाद्वारा आयोजित आमसभाको सभापतित्व गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, 'हिन्द प्रशान्त रणनीति सम्बन्धी क्लियर भएको भनिएको छ। यो घोषणा कानुनको अंग भएको भनेर भ्रम दिएको छ। यो अर्थहीन छ। यो कुनै अन्तराष्ट्रिय कानुनको अंग बनेको छैन। यसको अर्थ तुक केही छैन। भ्रमजाल मात्रै फालिएको हो।'
उनले एमसीसीका विषयमा संघर्ष नरोक्न आव्हान गरेका छन्। उनले नेपालमा अमेरिकी साम्राज्यवादको अखडा बन्न नदिन डट्नुपर्ने बताए।
उनले थपे, 'दक्षिण एशियाको सानो मुलुक नेपालमा अमेरिकी साम्राज्यवाद किन कुदेर आयो? चिन र भारतले ध्यान दिएका छन्। चिनका विरुद्ध घेराबन्दी गर्ने कुरा छ। चिनले बुझ्ने कुरा भइहाल्यो। भारतका विरुद्ध पनि यो प्रयोग हुन्छ।'
उनले राष्ट्रियताका लागि दृढतापूर्वक अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।