काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१ औँ वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) पारित गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले २१ औँ वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) समितिबाट पारित गरेको हो। समितिको बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए।
उनले प्रतिवेदनमा नौं वटा उपसमितिहरुले गरेका बेरुजु फर्छ्यौटका कामहरु समावेश गरिएको बताए। सचिव पाण्डेले प्रतिवेदनमा समितिले समसामयिक विषयहरुमा गरेका निर्णयहरु, गण्डकी प्रदेशको कालीगण्डकी करिडोरलगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षणलगायतका कुराहरु यसमा समावेश रहेको बताए।
‘सार्वजनिक लेखा समितिको बैठकमा विशेष गरी समितिले वर्षदिनमा गरेको काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले आज यसको मस्यौदा प्रतिवेदन समितिमा पेस भइ छलफलपछि यसलाई पारित गर्ने काम भयो' उनले भने, 'विशेष गरी यो वर्षभरी समितिले गरेका काम कारबाहीहरुमा मुलभुत रुपमा बेरुजु फर्छ्यौट गर्ने नौ वटा उपसमितिहरुले गरेका कामहरु समावेश गरिएको छ। समितिले समय समयमा बैठक बसेर समसामयिक विषयहरुमा गरेका निर्णयहरु पनि यसमा समावेश छन्।'
गण्डकी प्रदेशमा पर्ने कालीगण्डकी करिडोर लगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षण गर्ने र त्यसको प्रतिवेदन उपसमितिले पेश गरेको उनले बताए।
सचिव पाण्डेले समितिको उक्त प्रतिवेदन अनुमोदनका लागि सदनमा पेस गर्नका लागि प्रस्ताव गर्ने पनि बताए। उनले फास्ट ट्रयाकसम्बन्धी प्रतिवेदन यसअघिकै प्रतिवेदनमा संलग्न भइसकेको र पछिल्लो समय नेपाली सेनाले पुनः विचारको लागि रक्षा मन्त्रालयमा अनुरोध गरेकोले अहिले उक्त प्रतिवेदन समितिमा विचारधीन अवस्थामा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।