काठमाडौं– अभिनेत्री प्रियंका कार्कीले कसैले म पीडित हुँ भन्दा उसकै चरित्रमाथि प्रश्न उठाउनु जिम्मेवार समाजको काम हुन नसक्ने बताएकी छन्। पल शाह प्रकरणको विषयलाई लिएर कार्कीले यस्तो टिप्पणी गरेकी हुन्।
कार्कीले सामाजिक सञ्जालमार्फत आफू बाँचेको समाजमा कसैले आफू पीडित भएको भन्न पनि हिम्मत चाहिने भएकाले आवाज उठाउने हरेक पीडितलाई कदर गर्नुपर्ने बताएकी छिन्।
कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दु:खको कुरा, हामी यस्तो समाजमा बाँचेका छौं, जहाँ पीडितले 'म पीडित हुँ' भन्न मात्र पनि ठूलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरुको म भित्री आत्मादेखि नै कदर गर्दछु।’
त्यस्तै, कार्कीले नाबालिगले आफू पिडित भएको बताउँदा प्रश्न उठाउनु जिम्मेवार समाजको काम नहुने बताएकी छिन्। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता नराख्ने र उनीहरुको संरक्षणको जिम्मा सभ्य समाजको उत्तरदायित्व भएको भन्दै उनले यस्तो भनेकी हुन्।
‘नाबालिगको हकमा, मैले बुझेअनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेशअनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ,’ कार्कीले भनेकी छिन्, ‘नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले म पीडित हुँ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिह्न उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।