नेपालगन्ज- नेपाली कांग्रेस बाँकेको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ। बिहीबार भएको निर्वाचनमा सभापति पदमा नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो।
तीन उम्मेदवारमध्ये कसैले पनि कुल खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो। सभापति पदका लागि दोस्रो चरणको मतदानमा शुक्रबार (भोली) पहिलो स्थानका गौडेल र दोस्रो स्थानका कुर्मीबीच प्रतिस्पर्धा हुने जिल्ला सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए।
जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यको अध्यक्षतामा बिहीबार बेलुका बसेको बैठकले तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेकाले गौडेल र कुर्मीबीच शुक्रबार पुनः मतदान गराउने निर्णय गरेको छ ।
बिहीबार भएको निर्वाचनमा सभापति पदका उम्मेदवार गौडेलले ५ सय ६९, अर्का उम्मेदवार कुर्मीले ५ सय ३८ र हमालले ३ सय १४ मत प्राप्त गरेका थिए।
कुल खसेको मत १ हजार ४ सय ४५ मध्ये २४ मत बदर भएको थियो। सभापति पदका लागि शुक्रबार बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म जिल्ला समन्वय समिति बाँकेमा मतदान गराइने निर्वाचन परिचालन समितिका सदस्य ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए।
सभापतिको गणना भएपनि उप-सभापति, सचिव, सह-सचिव, कार्यसमिति सदस्य र महासमिति सदस्य पदको मत पेटिकालाई जिल्ला समन्वय समितिमै प्रहरीको सुरक्षामा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।