काठमाडौं– पल शाहविरुद्ध एक नाबालिग गायिकाले दिएको बलात्कारको जाहेरी र त्यसपछि उनको गिरफ्तारी अहिले चर्चामा छ। कला क्षेत्रमा अहिले यो मुद्दालाई लिएर धेरैले आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।
यसबीच गायिका एलिना चौहानले पनि आफ्नो धारणा दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् ढिलो भएपनि सत्य नलुक्ने बताएकी छन्। उनले आरोपित पल शाह र जाहेरी दिने गायिकालाई सम्बोधन गर्दै आफ्नो धारणा राखेकी छन्।
नाबालिग गायिका र आफूले सँगै गायन क्षेत्रमा पाइला अघि बढाएको उल्लेख गर्दै उनी सत्य भएमा न्याय पाउने एलिनाले बताएकी छन्। उनले लेखेकी छन्, ‘ यदि तिमी सत्य छौं भने तिमीले भोग्नु परेको दुःखको चिन्ता नलिनु। बाहिरको अफवाह झुठो भई तिमीले भनेझैं सबै कुरा सबुत प्रमाणका आधारमा प्रमाणित भए पक्कै पनि तिमीले न्याय पाउने छौं।’
सँगै एलिनाले पललाई सम्बोधन गर्दै उनको विपक्षमा ईर्ष्या गर्नेहरुको आहारा बनेको बताएकी छन्। सार्वजनिक भएका अडिओहरुलाई सत्यता भन्न आफूले नसक्ने भन्दै उनले हाल प्रहरी अनुसन्धानलाई सघाउनु पर्ने बताएकी छन्।
एलिनाले लेखेकी छन्, ‘कानुनका खाका पल्टाउँदै जाँदा को कति दोषी छ त्यो त भोलि अदालतले आफ्नो फौसलामा समावेस गर्ला र त्यही बमोजिमको सजाय भोग्नै पर्ने हुन्छ। तर, कानुनभन्दा माथि कोही छैन, त्यसैले कानुनको फौसला नमानेर कोही विजेता हुनेछैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।